संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्षतर्फ जम्मा २ जना दलित उम्मेदवार विजयी

– महावीर विश्वकर्मा, जागरण मिडिया सेन्टर

काठमाण्डौँ, ९ मंसिर ।  यही मंसिर ४ गते सम्पन्न संविधान सभा निर्वाचन २०७० मा  प्रत्यक्षतर्फ जम्मा २ जना दलित उम्मेदवार विजयी भएका छन् । बाँके ४ बाट उम्मेदवारी दिनुभएका नेकपा एमालेका उम्मेदवार दलबहादुर सुनार र महोत्तरी ३ बाट उम्मेदवारी दिनुभएका नेकपा एमालेकै अर्का उम्मेदवार रामदयाल मण्डल मात्रै निर्वाचित हुनुभएको हो । सुनारले १५,१७९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्णमान श्रेष्ठले १०,८१५ मत ल्याउनुभयो । यसैगरि मण्डलले ७,८४९ मत प्राप्त गरेर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामचन्द्र तिवारीले ४८०६ मत ल्याउनुभएको छ ।

अघिल्लो संविधान सभा निर्वाचनको परिणाम अनुसार प्रमुख भनिएका दलहरुमध्ये एनेकपा माओवादीले यो निर्वाचनमा ९ जना र नेकपा एमालेले ६ जना दलित उम्मेदवार चुनावी मैदानमा उतारेको थियो । नेपाली काँग्रेसले भने एकजना पनि दलित उम्मेदवार उठाएको थिएन ।

आशा गरिएकाले पनि हारे :
जीत्ने आशा गरिएका केही प्रभावशाली दलित नेताहरुले पनि यो निर्वाचनमा हार व्यहोर्नु परेको छ । चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएका एनेकपा माओवादीका विश्वभक्त दुलाल आहुतिले भारी मत अन्तरले पराजय व्यहोर्नु भएको छ । वौद्धिक र प्रभावशाली नेता आहुतिले जम्मा ९,३९९ मत प्राप्त गरेर तेश्रो स्थानमा चित्त बुझाउनुपर्यो । सो क्षेत्रमा नेपाली काँग्रेसका शेषनाथ अधिकारीले १८,१३५ मत ल्याएर विजयीहुनुभयो भने नेकपा एमालेका कृष्ण खनालले १,७०८२ मत ल्याएर दोश्रो हुनुभयो । सो क्षेत्रमा आहुति वाहेकका दुबै उम्मेदवार स्थानीय हुनुहुन्थ्यो । अघिल्लो संविधान सभामा समानुपातिकबाट सभासद बन्नुभएका उहाँको यो पटक भने संविधान सभाको यात्रा रोकिएको छ । आफु काठमाण्डौँ क्षेत्र नम्बर ९ का बासिन्दा भएकोले सोही क्षेत्रबाट उम्मेदवारी दिने इच्छा व्यक्त गरेपनि पार्टीले त्यहाँ देवेन्द्र पौडेललाई उठाएपछि उहाँले मकवानपुरबाट उठ्ने इच्छा व्यक्त गर्नुभएको थियो । अन्ततः पार्टीले उहाँलाई चितवन क्षेत्र नम्बर २ बाट उठाएको थियो ।

यसैगरि कृषि मन्त्री समेत भइसक्नुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य छविलाल विश्वकर्माले झिनो मत अन्तरले हारमा चित्त बुझाउनु परेको छ । विश्वकर्माले जम्मा २०४ मत कम ल्याएर हार व्यहोर्नुपरेको हो । उहाँले १४,१९६ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका अब्दुल रज्जाकले १४,४०० मत ल्याएर विजयी हुनुभयो । विश्वकर्मा अघिल्लो संविधान सभामा समानुपातिक तर्फका सभासद हुनुहुन्थ्यो ।

यस्तै पूर्व सहायकमन्त्री नेकपा एमालेका लालबहादुर विश्वकर्माले पनि हार व्यहोर्नुपर्यो । कञ्चनपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका दिवानसिंह विष्टले १०,२९४ मत ल्याएर जित हासिल गर्दा विश्वकर्माले भने ९,२३६ मत ल्याएर दोश्रो स्थानमा खुम्चिनुपर्यो ।

जीत्ने बलियो आशा गरिएका एनेकपा माओवादीका महेश्वर गहतराजले पनि हारको स्वाद चाख्नुपर्यो । बाँके १ बाट उम्मेदवारी दिनुभएका गहतराजले ६,२१५ मत पाउँदा नेकपा एमालेका देवराज भारले १०,९४० मत ल्याएर संविधान सभाको यात्रा तय गर्नुभयो । यस्तै एनेकपा माओवादीका बलिया ठानिएका अर्का उम्मेदवार गोपी अछामीले पनि भारी मत अन्तरले मोरङ ८ बाट हार व्यहोर्नु परेको छ । सो क्षेत्रमा नेकपा एमालेका चन्द्र गुरुङ्गले १७,४०१ मत ल्याएर आफ्ना लागि संविधान सभाको ढोका खोल्दा अछामीले भने जम्मा २,७१५ मत प्राप्त गर्नुभयो ।

आहुतिको हारले दलित आन्दोलन स्तब्ध :
दलित नेता एवम् समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दासले दलित आन्दोलनलाई र संविधान सभामा दलितका मुद्दालाई स्थापित गराउन सक्ने एक मात्र व्यक्ति विश्वभक्त दुलाल आहुती भएको भन्दै उहाँको पराजयले सिङ्गो दलित आन्दोलन स्तब्ध भएको प्रतिक्रिया दिनुभएको छ ।

विश्वभक्त दुलाल आहुति र छविलाल विश्वकर्मा जस्ता पार्टीका पोलिटब्युरो सदस्य स्तरको नेताको पराजयले जुनसुकै राजनीतिक पार्टीमा पनि दलित समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको र जिल्ला स्तरमा अझैपनि दलित उम्मेदवारलाई आफ्नै पार्टीका कार्यकर्ताले पनि सहजै स्वीकार नगर्ने वातावरण यथावत रहेको प्रष्ट भएको उहाँले बताउनुभयो । साथै आहुति र विश्वकर्माले आफु सभासद हुँदा संविधान सभामा भएका दलितका राम्रा कामहरुलाई अबको संविधान सभाले स्वामित्व लिने वातावरण बनाउन पार्टीभित्र आवश्यक भूमिका निर्वाह गर्नुपर्ने विचार राख्नुभयो ।

यसैगरि दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले आहुति र छविलाल विश्वकर्माको पराजयले गर्दा संविधान सभामा दलितका मुद्दालाई सशक्त ढङ्गले उठाउने कार्यमा कमी हुने बताउनुभयो । उहाँहरु जस्ता दलित उम्मेदवार उठाएपछि पार्टीले जिताउनका लागि जस्तो भूमिका निर्वाह गर्नुपर्ने थियो त्यसमा कमी भएको पनि उहाँको आशय थियो । २ जना उम्मेदवारले जित्नुलाई पनि सकारात्मक रुपमा लिनुपर्ने भन्दै उहाँले आहुति र छविलाल विश्वकर्माले दलितका मुद्दा संविधान सभामा प्रवेश गराउन पार्टी भित्र दबाब दिनुपर्ने बताउनुभयो ।

यसैगरि दलित महिला संघका अध्यक्ष दुर्गा सोबले यो निर्वाचनमा पनि दलहरुले पर्याप्त मात्रामा दलित उम्मेदवार नउठाएको टिप्पणी गर्दै त्यतिमध्ये पनि २ जना मात्रै निर्वाचित भएकोले अब समानुपातिकबाट आउने सभासदहरुमा दलितको सिट संख्या बढी गराइनुपर्ने माग गर्नुभयो । आहुति र छविलाल विश्वकर्मा जस्ता प्रभावशाली दलित उम्मेदवार निर्वाचित नहुनु बिडम्बना भएको र त्यसले दलित आन्दोलनमा निक्कै ठुलो धक्का लागेको उहाँको भनाई थियो । तरपनि उहाँहरु आफ्नो दलभित्र एउटा हैसियत कायम गरेका नेता भएकोले दलितका मुद्दालाई संविधान सभामा उठाउनका लागि दलभित्रै पनि उहाँहरुको महत्वपूर्ण भूमिका हुने सोबले बताउनुभयो ।

जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले यो संविधान सभाको निर्वाचनले दलितहरुलाई झनै कमजोर र झनै पछाडी पारेको अभिव्यक्ति दिनुभएको छ । अब दलित नागरिक समाजले दलितका मुद्दा तय गर्ने, राजनीतिमा लागेका दलित नेताले पार्टीभित्र लबिङ गरेर दबाब दिने र दलित सभासदहरुले नयाँ संविधानमा ती मुद्दाहरु प्रवेश गराउन लागिपर्नुपर्ने विचार उहाँले राख्नुभयो । आहुति र छविलाल विश्वकर्मा जस्ता नेताहरुले संविधान सभा बाहिरै बसेर पनि दलित हिजोको आफ्नो अनुभव सहितको सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

Report by:
Mahabir Bishwakarma
Program Producer
Jagaran Media Center
P.O.Box:19619
Kathmandu, Nepal
Off: +977 1 4780597/4781216
Website: http://www.jagaranmedia.org.np
e-mail:katwal@jagaranmedia.org.np
http://jagaranmediacenter.wordpress.com
http://www.archive.org/details/Katwal.Radio.Magazine

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: